A
P
P
L
Y

एस कलेजका विद्यार्थीले जिते मार्केटिङ एक्सिलेन्स प्रतियोगिता

1562662291ace-college-marketing-excellence-competition-2019.jpeg

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले आयोजना गरेको मार्केटिङ एक्सिलेन्स प्रतियोगितामा एस कलेजका विद्यार्थीको समूह प्रथम भएको छ । २० कलेज सहभागी प्रतिस्पर्धामा एस कलेजले प्रथम भई २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पनि हात पारेको छ । प्रतियोगिताको निर्णायकमा दिलीप अग्रवाल, बिन्दुनाथ लोहनी र प्रदीपराज पाण्डे रहेका थिए ।

युवा विद्यार्थीमाझ रहेको सेल्स र मार्केटिङसम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गरी प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा उपत्यकाका ८ र उपत्यकाबाहिरका १२ गरी २० कलेजका स्नातक र स्नातकोत्तर तहका विद्यार्थी सहभागी थिए ।

प्रतियोगिताले विद्यार्थीले अध्ययन गर्ने क्रममा सेल्स र मार्केटिङलगायत विविध क्षेत्रमा ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न मार्गदर्शकको भूमिका निर्वाह गरेको आयोजकको भनाइ छ । प्रतियोगितामा जेनिथ कलेजले दोस्रो स्थान प्राप्त गरी १ लाख रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने नेपाल कमर्स क्याम्पसले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

३७ दिनसम्म चलेको प्रतियोगितामा सेल्स र मार्केटिङ रणनीति निर्माण गर्न विभिन्न समयमा दूरसञ्चार एवं आइटी कम्पनीको भ्रमण गरी अध्ययन अनुसन्धान गराएको थियो । त्यसपछि प्रतियोगीले खोजअनुसन्धानको निष्कर्ष प्रस्तुत गरेका थिए । २० वटा कलेजबाट पहिलो चरणमा उत्कृष्ट ८ कलेज छानिएका थिए । त्यसपछि ८ कलेजबीच फाइनल प्रतिस्पर्धा गराइएको थियो ।

उत्कृष्टले नोकरी पाउने
कम्पनीले उक्त प्रतियोगितामा उत्कृष्ट क्षमता र सोच प्रस्तुत गर्न सक्ने प्रतिस्पर्धीलाई नोकरी दिन सक्ने वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए । यस प्रकारका प्रतिस्पर्धाले विद्यार्थीलाई व्यावहारिक रूपमै सेल्स तथा मार्केटिङ बजारमा आउन र रोजगारदातालाई पनि क्षमता परीक्षण गर्न सहज हुने उनको भनाइ थियो ।