मानविकी को महत्त्व

काँकरभिटाको कला साहित्य उत्सव दौरान निक्कै घतलाग्दा छलफल चले मानविकी को महत्त्व । ‘लोकतन्त्र तथा आलोचनात्मक चेत’बारे हरि शर्माको प्रवचनबाट प्रारभ भएको महोत्सवमा समकालीन आख्यान, भूराजनीतिक चिन्तन, पर्यावरण, सांस्कृतिक राष्ट्रवाद, लोककला, मिडिया तथा जेन्डर लगायत विविध विषयमा चर्चा चले । म सहभागी भएको प्यानललाई सुप्रिया मानन्धरले प्रस्तुत गर्नुभएको थियो र डा. अमिना सिंह र डा. भाष्कर गौतम उक्त प्यानलका अन्य सहभागी हुनुहुन्थ्यो
मानविकी को महत्त्व अमिना सिंह तथा भाष्कर गौतमले शिक्षा पद्घति, समाजशास्त्र र शोध बारेका समस्याका ‘संकट’लाई जोडेर महत्त्वपूर्ण विमर्श गर्नुभयो । मेरो अध्ययन र अनुभव भने मानविकीसित जोडिएकाले त्यसकै वरिपरि रहेर आफ्ना कुरा राखेँ । यस लेखमा मानविकी को महत्त्व बारेका समस्या वरिपरि नै केन्द्रित भएको छु ।   कुनै बेला केन्द्रीय अंग्रेजी विभागमा हरेक वर्ष एक हजारभन्दा बढी विद्यार्थी भर्ना हुन्थे । सेमेस्टर सिस्टम सुरु भएपछि अहिले प्रतिसेमेस्टर पचासजना जति हुन्छन् । केन्द्रीय नेपाली विभागमा यो वर्ष सातजना विद्यार्थीमात्र भर्ना भए भन्ने खबर छ । इतिहास विभागमा त झन् विद्यार्थी नै आउन छाडे भन्ने कुरो पत्रपत्रिका र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको थियो । यस बाहेक दर्शन, कला, साहित्य, भाषा—साहित्य र समाजशास्त्रका विभागमा नेपालमा मात्र नभई प्रायः संसारका अन्य मुलुकमा समेत विद्यार्थीे संख्या घटेका समाचार अनलाइनमा बग्रेल्ती पढ्न पाइन्छ । सायद यिनै तथ्यलाई मनन गरेरै आयोजकले प्यानलको र्शीषक ‘मानविकी र समाजशास्त्रका संकट’ राख्नुभएको थियो ।   मेरो विचारमा विषयलाई लक्षण (सिमटम) र रोग (डिजिज) को भिन्नतालाई बुझ्दै केलाउनु बडी उपयुक्त हुनेछ । अनिद्रा एउटा लक्षण हो भने निद्रा नलाग्नुले थाइराइड वा मुटु वा अन्य कुनै गम्भीर रोगतिर संकेत गरेको हुनसक्छ । यसरी बुझ्दा मानविकीका विभागहरूमा विद्यार्थी संख्या घट्नुलाई लक्षण वा समस्या (वा संकट) भन्ने हो भने अहिले देखिएको संकटको मूलरोग अरू नै केही हुनसक्छ । उक्त रोगलाई बुझ्न निम्ति मानविकीको इतिहासलाई संक्षेपमा केलाउन आवश्यक छ । ग्रीक तथा रोमन साम्राज्य दौरान रेटोटिक र ग्रामर नामको विषय पढाइन्थ्यो । उक्त विषयको उद्देश्य थियो, विद्यार्थीलाई शुद्घ भाषा लेख्न सिकाउनु र तिनलाई आलंकारिक भाषाका प्रयोग गर्दै राजनीतिक र नागरिक मुद्दाबारे सार्वजनिक बहसमा भाग लिन सक्षम बनाउनु । सार्वजनिक तथा राजनीतिक वृत्तको यस किसिमको आमअभ्यास लोकतन्त्रको प्रारम्भिक उदाहरण थियो ।   तर समस्या जरैमा थियो । आलंकारिक भाषाको दक्षतामार्फत सार्वजनिक छलफलमा सहभागी हुने हक मध्यम र उच्च वर्गका, जमिनमा स्वामित्व भएका पुरुषहरूलाई मात्र थियो । महिला तथा दास वर्ग उक्त ‘लोकतान्त्रिक’ छलफलबाट बहिस्कृत थिए । अर्को शब्दमा भन्दा भाषा—साहित्यको शिक्षण लोकतन्त्रसित जोडिएको थियो । तर त्यो लोकतन्त्र अर्कै भने केही वर्ग र व्यक्तिका लागिमात्र थियो । सत्रौं र अठारौं शताब्दीलाई युरोपमा ‘पुनर्जागरण’ तथा ‘तार्किकताको युग’को रूपमा मानिन्छ । यस युगमा दर्शन तथा भाषा—साहित्य बारेका शिक्षण र पठन प्रक्रिया मानवतावादका आदर्शसित जोडिन पुगे । संसारभरि छरिएका मानवको साझा मानवता के हो ? मानव तथा सम्पूर्ण ब्रह्मान्ड (र, त्यसमा निहित ‘वैज्ञानिक’ र तार्किक ज्ञानबीच) के कस्तो सम्बन्ध छ आदिजस्ता कुरा भौतिक विज्ञानले मात्र नभई कला, साहित्य दर्शनले समेत उजागर गर्न सक्छ भन्ने सोच फैलियो । त्यसै अनुरूप अठारौं शताब्दीमा उदय भएका राष्ट्र/राज्यहरूले विश्वविद्यालय र अन्य शैक्षिक संस्थाका मानविकी विभागहरू निम्ति पैसा छुट्याउन थाले । दर्शन, साहित्य, कलाको अध्ययन, अध्यापनमा पनि रुचि बढ्दै गयो ।   ग्रीक तथा रोमन साम्राज्यकै समयदेखि चल्दै आएको मानविकीको समस्या नयाँ स्वरूपमा देखापर्‍यो । जसरी ग्रीसका ‘लोकतान्त्रिक’ अभ्यासमा नारी र भूमिहीनहरूको सहभागिता थिएन, नयाँ ‘तार्किक’ युरोपमा पनि महिला र अन्य वर्ग र जातिका पनि ‘मानवता’को खाकाभित्र पर्न सकेनन् । युरोपेली राष्ट्र/राज्यहरूका कर्मकाण्ड पितृसत्तामक संरचना र मानसिकताबाटै निर्देशित रहे भने महिलाले मत दिने अधिकार पाउन दुई सय वर्ष अझै कुर्नुपर्‍यो । मध्य र उच्च वर्गका युरोपेलीहरू सेलोन र कफी हाउसमा मानवतावादबारे छलफल गरिरहँदा उक्त छलफलको ‘आर्थिक आधार’ अफ्रिका, एसिया तथा दक्षिण अमेरिकामा फैलिएको औपनिवेशवाद तथा दास प्रथाले कसरी निर्माण गरेको छ भन्ने बारेका तथ्य तथा तथ्यांकबारे ‘तार्किक छलफल’ हुन सकेन । साथै ‘मानव सभ्यता’ र मानवका निम्ति सहरहरू बनाउँंदा प्रकृति र अन्य जीवको कस्तो दोहन भइरहेछ भन्ने पनि छलफलमा आएन । युरोपेली तार्किकताले मानवतालाई बडो सीमित ढंगले परिभाषित गर्‍यो । मानवतावाद ‘मानव’ हटाउंँदै गयो, खालि मानवतावादको ‘वाद’मात्र बाँकी रह्यो । जसको केन्द्रमा केही विशिष्ट वर्ग र लिङ्गका मानव थिए ।   बीसौं शताब्दीका दुई मुख्य विश्वयुद्घ र त्यसपछि पुँजीवादी पश्चिम र सोभियत शैलीको साम्यवादबीच चलेको शीतयुद्घ दौरान पश्चिममा मानविकीका नयाँ उपयोगबारे छलफल भयो । एउटा मत थियो– दर्शन तथा भाषा—साहित्यले मानव भित्रका नैसर्गिक प्रजातान्त्रिकमूल्य र मानवीयताको विकास गराउँछ । यसै विचारअनुरूप मानविकी विभागहरूको कोष थपियो, प्राध्यापक र विद्यार्थी दुवैका संख्या बढ्न थाले । पुँजीवादी पश्चिम मानविकीलाई प्रजातन्त्रसित जोड्दै साम्यवादी ‘खतरा’संँग भिड्न तयार भयो । सन् १९८९ मा बर्लिन पर्खालको विघटन तथा शीतयुद्घको समाप्तिपछि भने मानविकीको नयाँ संकट देखापर्‍यो । पर्खालको विघटनलाई पुंँजीवादी प्रजातन्त्रको विजय र साम्यवादको हारको रूपमा अर्थ्याइयो । यस किसिमको बुझाइले मानविकीका विभागहरूको महत्त्व कम गर्‍योे । अब साम्यवादी विचारको प्रतिरोधमा प्रजातन्त्रलाई सशक्त बनाइरहनुपर्ने आवश्यकता रहेन । पश्चिमी शैलीको बजार व्यवस्थाको विश्वब्यापीकरण भइसकेको छ र प्रजातन्त्रको मर्मलाई उदारवादी बजार व्यवस्थाभित्रै संस्थागत गर्न सकिन्छ भन्ने सोच्न ब्यापक हुँदै गयो ।   यस किसिमको सोचका केही परिणाम गएका पच्चीस, तीस वर्षभित्र चुलिँदै आएका छन् । तीमध्ये एउटा परिणाम हो– उपभोक्ता संस्कृति (कन्जुमर कल्चर) को विश्वव्यापी विजय यात्रा र अर्को हो उपयोगितावाद (युटिलिटेरियानिजम) को विश्वव्यापी फैलाउ । दर्शन, अध्यात्म र साहित्यका विद्यार्थीलाई सभ्यताको प्रारम्भदेखि नै घचघचाइरहने एउटा प्रश्न छ– म को हुँ ? धार्मिक विश्वदृष्टिले निर्देशित समाजमा यस प्रश्नको जवाफ प्रायः यसरी आउंँछ– म एक आत्मा हुँ । अथवा हिन्दु, मुस्लिम, क्रिस्चियन वा बौद्घ हुँ । राष्ट्रियताको भाष्यको जगमा उभिएर त्यही प्रश्नको जवाफ दिंँदा कसैले भन्लान्–म नेपाली, भारतीय, अमेरिकन वा जर्मन आदि हुँ । मानवतावादको संकथनको धरातलमा उभिएर जवाफ दिँदा भन्न सकिएला– म अरू केही नभएर मात्र एक मानव हुँ ।   उपभोक्तावादको जगजगी फैलिँंदै गएको अहिलेको अवस्थामा उक्त आद्य प्रश्नको उत्तरमा ‘म आइफोन टेन प्रयोग गर्ने व्यक्ति हुँ’ वा म ‘फलानो ब्रान्डको टाइसुट लाउने वा फलानो मोडलको मोटरसाइकल वा कार चढ्ने व्यक्ति हुँ’ भन्नेहरू देखापर्न थालेका छन् । अर्को शब्दमा भन्दा उपभोगले नै मानिसको परिचयलाई परिभाषित गर्ने प्रक्रिया संसारभरि बढ्दै जाने देखिन्छ । उपभोक्तावादको विजय यात्रामा उपयोगितावाद पनि मिसिएको छ । कुन किसिमको शिक्षा आर्जन गर्दा वा सीप सिक्दा आफूलाई बजारमा सफल कर्ताका रूपमा उभ्याउन सकिन्छ भन्ने चेतना विद्यार्थीमा बढ्दै गएको छ । कम्प्युटर साइन्स वा जीवविज्ञान पढ्दा आफ्नो सीपलाई बजारमा बेच्न बढी सजिलो हुन्छ । किनकि यी विषयहरूसित जोडिएको ज्ञान र सीप बजारका लागि बढी आवश्यक छ ।   आधुनिक संसारमा लगातार प्राविधिक परिवर्तन भइरहेछन् । यस प्राविधिक युगमा कम्प्युटर साइन्स, जीवविज्ञान, तथ्यांक शास्त्र लगायतका विषयको महत्त्व पक्कै बढेको छ । त्यसैले यी विषयमा पक्ष भएरपैसा कमाउनु र आफ्नो जीवनशैली उकास्नखोज्नु स्वाभाविक इच्छा हो । यसैले गर्दा पनि दर्शन, भाषा–साहित्य र समाजशास्त्रका विभागहरूमा विद्यार्थीको संख्या घटिरहेको हुनसक्छ । मैले अघि नै भने अनुसार विद्यार्थीको संख्या घट्नु रोगको लक्षणमात्रै हो । रोग अर्कै छ । रोग हो– शीतयुद्घको समाप्तिपछिको विश्वव्यापी राजनीतिक, आर्थिक, सांस्कृतिक परिवेशमा मानविकीले आफ्नो प्रकृति र उद्देश्यलाई नयाँ ढंगले परिभाषित गर्न नसक्नु । कांँकडभिटा कला–साहित्य महोत्सव दौरान धरानको बीपी मेडिकल कलेजका विद्यार्थीहरू पनि आउनुभएको थियो । उहाँहरूले भन्नुभयो–हामीले चिकित्सा विज्ञानबाहेक समाजशास्त्र र साहित्यबारे पनि पढ्नुपर्छ ।   चिकित्साशास्त्र, कानुन, व्यापार लगायतका अन्यउपयोगी क्षेत्रका विद्यार्थीले पनि दर्शन, साहित्य, कला समाजशास्त्रबारे जानकारी राख्नुपर्छ भन्ने चेतना गएको दस–पन्ध्र वर्षमा बढ्दै गएको देखिन्छ । डाक्टर वा वकिललाई साहित्य वा दर्शनबारे जानकारी छ भने ऊआफ्ना ‘क्लाइन्ट’प्रति बढी संवेदनशील हुनसक्छ र त्यसै कारणले गर्दा बढी राम्रो डाक्टर वा वकिल बन्न सक्छ भन्ने मान्यता प्रचलनमा आउँंदैछ । उपभोक्ता संस्कृतिको समसामयिक युगमा मानविकी र समाजशास्त्रका नयाँ उपयोगिता खोज्ने क्रमलाई यस किसिमको चेतना र मान्यताले सघाउ पुर्‍याउनेछ । मानविकी र (समाजशास्त्रको) क्षेत्रमा देखापरेको लाक्षणिक संकटलाई मात्र नभएर यसको जरामा रहेको रोगकै निदान खोज्ने हो भनेचाहिँ यस विषयमा अझै गम्भीर भएर सोच्नुपर्छ ।समसामयिक युगमा दर्शन, भाषा–साहित्य र अन्य मानविकीको किन आवश्यकता छ ? किनकि मानविकीले मानिसमा आलोचनात्मक चेतको विकास गर्छ । यसको मतलब जीवविज्ञान वा भौतिक विज्ञानजस्ता क्षेत्रमा आलोचनात्मक चेतको आवश्यकता हुँदैन भन्ने होइन ।   तर मानविकीमा प्रयोग हुने चेतको प्रकृति भिन्न हुन्छ । विज्ञानमा प्रायः गरेर आलोचनात्मक चेत आफू बाहिर निर्देशित हुन्छ– उक्त चेतले तथ्यांक केलाउँछ, तथ्यांक र तथ्य परिवर्तित भएको अवस्थामा आफ्नो सैद्धान्तिक मोडल पनि परिवर्तित गर्दै लैजान्छ । मानविकीले भनेबाह्य जगतलाई मात्र नभएर आफ्नै आन्तरिक सोचलाई बारम्बार प्रश्न गरिरहने, आफैलाई दोहोर्‍याएर हेरिरहने फरक किसिमको चेतको विकास गर्न मद्दत गर्छ । यस किसिमको आलोचनात्मक चेतको आवश्यकता मानवता र लोकतन्त्र दुवैलाई छ । एक दृष्टिले बुझ्दा ‘मानवता’ र ‘लोकतन्त्र’ दुवै अमूर्त धारणा हुन् । न हामीले बजारमा मानवताको टोपी लगाएको कुनै व्यक्ति वा वस्तुलाई भेट्न सक्छौं न गाउँ–सहरका गल्ली–सडकमा ‘लोकतन्त्र’को कपडा लगाएको कुनै व्यक्ति, सत्ता वा स्वरूपलाई । मानवता र लोकतन्त्र दुवै संसारभरि बाँचिरहेका नरनारीका विचार र व्यवहारमार्फत नै व्यक्त हुन्छन् ।   त्यसैले हरेकले आफैलाई दोहोर्‍याएर हेर्ने, परिवर्तनको निम्ति तयार रहने, आफ्नै विचारका सीमालाई प्रश्न गरिरहने किसिमको आलोचनात्मक चेत विकास हुनसके मात्र मानवता र लोकतन्त्रका परिधि फराकिला हुँदै जानेछन् । लोकतन्त्रका नयाँ परतहरू उघ्रिँदै जानेछन् । लोकतन्त्र र मानवताको परिधिमा केही विशेष जात, वर्ग, लिङ्ग र भूगोलका मानिसमात्र हुने छैनन् । सबै समाहित हुँदै जानेछन् । मानवले मानव केन्द्रित विश्वदृष्टि त्यागेर पशुपन्छी र प्रकृतिबारे पनि मानविकी को महत्त्व सोच्न थाल्नेछन् । अर्को सम्भावना पनि छ– उपभोक्ता संस्कृतिको रमझम र रमरममा आफैलाई बिर्सेर आलोचनात्मक चेत हराएका मानव झन्–झन् आत्मकेन्द्रित र स्वार्थी बन्दै जानेछन् । प्रकृतिको विनाश बढ्नेछ । लोकतन्त्रको क्षितिज खुम्चनेछ । अर्कार्लाई पछारेर आफू ठूलो भइरहने दंगली मानसिकताले अझै ब्यापकता पाउनेछ । मानिस त्यसबेला पनि लगातार दौडिरहेकै हुनेछन्, किनकि छेउछाउका सबै दौडिरहेकै हुनेछन् । तर दौडेर पुग्ने कहाँ भनेर सोच्ने चेतसमेत बजारको रमझममा धुमिल हुँदै जानेछ ।   दर्शन, साहित्य, कला, समाजशास्त्र आदिजस्ताविषयले मानिसलाई त्यस दैनिक दौडादौडी र दंगली मानसिकताबाट केही समयमात्र भए तापनि बाहिर निस्केर आलोचनात्मक ढंगले सोच्न ‘क्रिटिकल स्पेस’ दिन्छन् । त्यसैले तिनले मानवता र लोकतन्त्रका परिधिलाई लगातार फराकिलो बनाउँदै लैजानसमेत मद्दत गर्छन् । मानविकीको महत्त्व यसैमा छ ।

Also, Read;

top 10 colleges of Nepal
Engineering In Nepal
Leave your comment
Comment
Name
Email
Weekly Newsletter

Get the latest update for all educational needs like counseling, news, notices, results, scholarships, entrance preparation, and opportunities.